शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९८६३ - जबरजस्ती करणी

भाग: ५९ साल: २०७४ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७३।१२।०२

०७१-CR-०५८६

 

मुद्दा : जबरजस्ती करणी

 

पुनरावेदक / वादी : ठग्गा डंगौरा थारूको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला हसुलिया गा.वि.स. वडा नं. ६ बस्ने प्रेम चौधरीसमेत 

 

मिसिल प्रमाणबाट प्रतिवादीहरूले कसुर गरेको प्रमाणित भएपछि दाबीबमोजिम सजाय माग गरेको ऐनको दफाले प्रतिवादीहरूले गरेको कसुरलाई समर्थन गर्छ गर्दैन ? सो कुरा न्याय कर्ताले कानूनको अध्ययन गरी हेर्नुपर्दछ । सो सजाय गरेको ऐनको दफाले नसमेटिने देखियो र त्यही ऐनको अर्को दफामा भएको कानूनी व्यवस्थाले भएको कसुरलाई समेटिने देखियो भने र वादी दाबीबमोजिम वादीले माग गरेको सजायभन्दा बढी हुन जाँदैन भने सो परिवर्तन गरेको दफाले माग गरेको सजायमा भन्दा बढी हुँदैन भने सजायमा परिवर्तन गर्न मिल्ने । 

(प्रकरण नं. ४)

कुनै पनि फौजदारी मुद्दामा जुन कसुर ठहर हुन्छ, कानून मुताबिक फरक फरक सजायको व्यवस्था भएकोमा तदनुकूलको कानून मुताबिक कसुरदारलाई सजाय गर्नुपर्ने हुन्छ । ऐनले नै पीडितको उमेरको आधारमा कसुर कायम गरी सकेपछि मिसिलसंलग्न प्रमाणबाट कायम भएको उमेरको आधारमा नै कसुर कायम गरी सजाय गर्नुपर्ने भएको र पीडितको उमेर १४ वर्षभन्दा माथि १६ वर्ष मुनिको भनी उल्लेख गरेको प्रमाणको आधारमा प्रतिवादीलाई वादी पक्षले प्रस्ताव गरेको सजायको दाबीमा ३(२) उल्लेख गरेपनि मिसिलबाट जबरजस्ती करणीको ३(३) को कसुर स्थापित भएपछि ऐ. को ३(३) अनुसार नै प्रतिवादीहरूलाई सजाय गर्नुपर्ने भएबाट यस्तो अवस्थामा दाबीभन्दा बाहिर गई सजाय भएको भनी सम्झन नमिल्ने । 

(प्रकरण नं. ५)

जाँच प्रतिवेदन प्राप्त भएपछि अनुसन्धानको क्रममा पीडित एउटा उमेर देखाउने अनि जाँच गर्ने मेडिकल बोर्डबाट कसुरको सम्बन्धमा पीडितले देखाएभन्दा फरक देखाएपछि सो उमेर के हो भनी यकिन गरी अनुसन्धान गर्ने पक्षले पीडतको उमेरबारे यकिन गरी अभियोग दायर गर्नुपर्ने 

हो । सो विशेषज्ञले उल्लेख गरेको उमेर र पीडितले उल्लेख गरेको उमेरबारे मौकामा नै थाहा पाई अनदेखा गरी त्यसतर्फ केही उल्लेख नगरी सो पत्र मिसिल संलग्न राखी अभियोग पत्र दायर गरेको अवस्थामा न्यायकर्ताले न्याय सम्पादन गर्ने कार्यमा उक्त पत्र सम्बन्धमा यकिन गर्न नपाउने भन्ने नहुने । 

(प्रकरण नं. ६)

 

पुनरावेदक वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता नारायणबहादुर थापा

प्रत्यर्थी प्रतिवादीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

जबरजस्ती करणीको महलको ३(२), ३(३)

 

सुरू तहमा फैसला गर्नेः

माननीय जिल्ला न्यायाधीश श्री यज्ञराज भट्ट

पुनरावेदन तहमा फैसला गर्नेः

मा.का.मु.मुख्य न्या.श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री रेवन्त बहादुर कुँवर

 

फैसला

न्या.सारदाप्रसाद घिमिरे : पुनरावेदन अदालत, दिपायलको मिति २०७१।५।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छः

 मिति २०६९।१०।०६ गते राति ९.३० वजेको समयमा म जाहेरवालाकी छोरी वर्ष १२ की धनगढी 'ओ' (परिवर्तित नाम) पिसाब फेर्न घर बाहिर आएको अवस्थामा प्रतिवादी प्रेम चौधरीसमेत जना तिनले जबरजस्ती मुख च्यापी घर नजिकैको जङ्गलमा लगी पालै पालो सामुहिकरूपमा तिनै जनाले जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।७ गतेको जाहेरी दरखास्त ।

जिल्ला कैलाली हसुलिया गा.वि.स.वडा नं.६ नमुना सामुदायिक वन कमल पोखरी नदीको किनारस्थित पूर्वमा ५ मिटर टाढा नमुना सामुदायिक वन, पश्चिममा ५० मिटर टाढा कमल पोखरी ताल, उत्तरमा २०० मिटर टाढा गौरी गणेश सामुदायिक वन, दक्षिणमा १०० मिटर टाढा नमुना सामुदायिक वन यति चार किल्लाभित्र जिल्ला कैलाली हसुलिया गा.वि.स.वडा न.६ बस्ने ठग्गा डगौराकी छोरी वर्ष १२ की 'धनगढी ओ' लाई ऐ.ऐ.बस्ने सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मिति २०६९।१०।६ गते राति २२.०० बजेको समयमा सामुहिक बलात्कार गरेको भनी देखाएको मिति २०६९।१०।७ गतेको घटनास्थल मुचुल्का ।

मिति २०६९।१०।०६ गते राति २१.०० बजेको समयमा प्रतिवादी कमल चौधरी, प्रेम चौधरी र सागर चौधरी मेरो घर कोठाभित्र पसी बुबासँग झै–झगडा गरी मलाई केही टाढा जंगलमा लगी निजहरू तिनै जनाले मलाई पालैपालो जबरजस्ती करणी गरेकोले निजहरूलाई कानूनबमोजिम सजाय हुनैपर्छ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।७ गतेको पीडितले मौकामा गरेको कागज ।

पीडितको योनि वरिपरि Moist छ,  Libia mijora सुन्निएको एवम्‌ कन्याजाली च्यातिएको छ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।१० गतेको मेडिकल बोर्डको रिपोर्ट । 

मिति २०६९।१०।०६ गते राति मादक पदार्थ सेवन गरी पीडितको घरमा गई प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र मैले पीडित 'धनगढी ओ' लाई निजकै घरबाट उठाई जंगलमा लगी पालैपालो जबरजस्ती करणी गरेका हौं, भन्नेसमेत व्यहोराको मिति २०६९।१०।८ गतेको कमल चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, कमल चौधरी र म प्रेम चौधरीले पीडित 'धनगढी ओ' लाई निजकै घरबाट जंगलमा लगी पालैपालो जबरजस्ती करणी गरेका हौ भन्नेसमेत व्यहोराको प्रेम चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी कमल चौधरी,  प्रेम चौधरी र मैले पीडित 'धनगढी ओ' लाई निजकै घरबाट जंगलमा लगी कमल चौधरी र प्रेम चौधरीले जबरजस्ती करणी गरिसकेपछि मैले पनि जबरजस्ती करणी गर्न लाग्दा निजको योनिबाट रगत निस्केपछि मैले यौन सम्पर्क गर्न नपाई छोडेको हुँ भन्नेसमेत व्यहोराको सागर चौधरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मादक पदार्थ रक्सी सेवन गरी जाहेरवालाको घरमा गई निज जाहेरवालासँग झै-झगडा गरी जाहेरवालाकी छोरी पीडित 'धनगढी ओ' लाई जंगलमा लगी पालैपालो जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।१७ गतेको रमेश चौधरीले मौकामा गरेको कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मादक पदार्थ रक्सी सेवन गरी जाहेरवालाको घरमा गई निज जाहेरवालासँग वादविवाद गरी जाहेरवालाकी छोरी पीडित 'धनगढी ओ' लाई डराई धम्काई निजको इच्छाविपरीत जंगलमा लगी पालैपालो सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।२२ गतेको कमल चौधरीले मौकामा गरेको कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मादक पदार्थ रक्सी सेवन गरी जाहेरवालाको जबरजस्ती ढोका खोली घरभित्र प्रवेश गरी निज जाहेरवालासँग झै झगडा गरी जाहेरवालाकी छोरी पीडित 'धनगढी ओ' लाई नमुना सामुदायिक वनभित्र लगी पालैपालो सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितले भनेपछि थाहा पाएकी हुँ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।२५ गतेको अनिता चौधरीले मौकामा गरेको कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मादक पदार्थ रक्सी सेवन गरी जाहेरवालाको घरमा गई निज जाहेरवालासँग झै-झगडा वादविवाद गरी जाहेरवालाकी छोरी पीडित 'धनगढी ओ' लाई जंगलमा लगी पालैपालो जबरजस्ती करणी गरेको हुनुपर्दछ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।२५ गतेको सुबर्णी चौधरीले मौकामा गरेको कागज ।

मिति २०६९।१०।०६ गते राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरीले मादक पदार्थ रक्सी सेवन गरी जाहेरवालाको घरमा गई निज जाहेरवालासँग झै–झगडा गरी धाक धम्की दिई जाहेरवालाकी छोरी पीडित 'धनगढी ओ' लाई पिसाब फेर्न बाहिर गएको अवस्थामा निजको इच्छाविपरीत मुख च्यापी नमुना महिला सामुदायिक वनमा लगी पालैपालो जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाएका हौ भन्नेसमेत व्यहोराको मिति २०६९।१०।२८ गतेको वस्तुस्थिति मुचुल्का ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरूले रातको समयमा रक्सी सेवन गरी जाहेरवालाको घरमा प्रवेश गरी निजकी नाबालिका वर्ष १२ की छोरीलाई घरबाट जबरजस्ती लिई गई नमुना महिला सामुदायिक वनमा पुर्‍याई तिनै जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको पुष्टि भई प्रतिवादीहरू कमल चौधरी, प्रेम चौधरी र सागर चौधरीले मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं.को कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐन महलको ३(२) नं.बमोजिम सजाय हुन तथा सोही महलको ३(क) नं.बमोजिम थप सजायसमेत हुन साथै प्रतिवादीहरूबाट पीडितलाई सोही महलको १० र १०ग नं.बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।

उक्त दिन केटीको घरमा म एक्लै गएको 

थिएँ । उक्त दिन दिउँसो पनि म त्यो केटीको घरमा गएको थिएँ । सो दिन निज केटीकी आमा विवाह भोज खान धनगढी आएकी थिइन् । केटीले आज राति मेरो घरमा आउनु भनेर दिउसै भनेको हुँदा म केटीको घरमा गएको हुँ । त्यो केटी मेरो साली नाताकी पनि भएकी हुँदा सो राति म केटीसँगै आधा घण्टा जति सुतेको थिएँ । हामी दुवै जनाको करणी गर्ने मन भई सुटुक्क घरबाट निस्की नजिकैको जंगलमा गई दुई पटक करणी हामी दुवैबीच भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी कमल चौधरीले सुरू अदालतमा गरेको बयान ।

२०६९।१०।६ गते राति हाम्रो गाउँ नजिकै नाच भइरहेको थियो । हामी तिनै जना साथी भएको हुँदा प्रेम चौधरी र म सागर दुवै जना कमललाई लिन निज कमल चौधरीको घर  गयौं । नाच हेर्न जाउँ भन्दा कमलले हामीहरूलाई मेरो नानी (आमाको आमा) को घरमा गई जाँड खाऔं भन्यो । अनि हामीहरू कमलको नानी (आमाको आमा) सुब्बा देवी चौधरीको घरमा गई एक एक कचौरा जाँड खायौँ । कमलले हामी दुवै जना प्रेम र मलाई तपाईहरू यतै बस्नुहोस् म सालीको घरमा जान्छु भनी हामीलाई त्यतै छोडी पीडित भनिएकी 'धनगढी ओ' को घरमा गएका हुन् । कमलले अबेर गरेपछि हामीहरू 'धनगढी ओ' को घरमा जाँदा कमल र 'धनगढी ओ' अंगालो मारी उभिएको देखेका हौं । त्यसपछि हामीले कमललाई नाच हेर्न जाउँ भन्दा आज पानी परेको छ भनेपछि हामीहरू आ–आफ्नो घर सुत्न गयौं, हामीहरू प्रेम र मैले पीडितलाई जबरजस्ती करणी गरेको होइन, जाहेरी झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी सागर चौधरीले सुरू अदालतमा गरेको 

बयान ।

मिति २०६९।१०।६ गतेको राति हाम्रो गाउँ नजिकैको 'के' गाउँमा नाच भइरहेको  थियो । नाच हेर्न भनी म र सागर, कमल चौधरीको घर गयौं । यत्तिकैमा कमल चौधरीले नानी (आमाको आमा) कहाँ जाँड खान जाउँ भनेर भन्यो । हामीहरू तिनै जना सो जाँड खाने ठाउँ सुब्बादेवी चौधरीको घर गयौं । त्यहाँ कमलले जाँड एक कचौरा खायो, त्यसपछि हामीहरूलाई म सालीको घर जान्छु भनी गयो । सागर चौधरी र म त्यतै 

बस्यौँ । एक घण्टा जतिको समय भएकाले हामी कमललाई लिन पीडित 'धनगढी ओ' को घरमा गयौं । त्यहाँ कमल चौधरी र 'धनगढी ओ' सँगै उभिएका थिए । नाच हेर्न जाउँ भन्दा कमलले पानी पर्दैछ आज नजाउँ भनेपछि हामीहरू आ–आफ्नो घर गयौं भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम चौधरीले सुरू अदालतमा गरेको बयान ।

उक्त राति प्रतिवादी सागर चौधरी, प्रेम चौधरी र कमल चौधरी हाम्रो घरमा आई बुबासँग झगडा 

गरे । म पिसाब गर्न बाहिर निस्केको बेला यी तिनै जना प्रतिवादीले मलाई बोकेर जंगलमा लगेर २ जना प्रतिवादी कमल चौधरी र प्रेम चौधरीले जबरजस्ती करणी गरेका हुन् । प्रतिवादी सागरले मेरो रगत देखेर करणी गरेन भन्नेसमेत व्यहोराको पीडित 'धनगढी ओ' (परिवर्तित नाम) ले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त मितिमा प्रतिवादीहरू मेरो घरमा आई जाँड खाएका थिए । प्रतिवादी कमल चौधरी  सालीको घरमा बोलाएकोले जाँदैछु, तिमीहरू यहीँ जाड रक्सी खाई गफ गर, म एकछिन पछि आउँछु भनी गएको 

हो । प्र. कमल चौधरी धेरै बेरसम्म पनि नआएपछि प्र. प्रेम चौधरी र सागर चौधरी लगभग १ घण्टापछि मेरो घरबाट निस्केर गएका हुन् । कमल चौधरी एक्लैले सहमतिमा करणी गरेको हुनुपर्छ । अन्य प्रतिवादीहरू निर्दोष हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेम चौधरीका साक्षी सुब्बादेवी चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

निज पीडितलाई प्रतिवादी कमल चौधरीले केटीको सहमतिले करणी गरेका हुन् । अन्य २ जना प्रतिवादी प्रेम र सागरले करणी गरेको होइन भन्नेसमेत व्यहोराको घटना विवरणमा कागज गर्ने अनिता चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त वारदातमा जबरजस्ती करणी गरेको होइन । प्रतिवादी कमल चौधरी र पीडितबीच साली भिनाको नाता पर्छ । यिनीहरू बीच माया प्रेम 

थियो । एक दोस्रोको घरमा आउने जाने गर्थे । प्रतिवादी कमल चौधरीले करणी गर्‍यो कि गरेन मलाई थाहा भएन । अन्य २ जनाले करणी गरेका होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादी सागर चौधरीका साक्षी लालुराम चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी कमल चौधरी र पीडितको पहिलेदेखि माया प्रेम थियो । यी दुवैले लोग्ने स्वास्नी बन्ने कुरासमेत गरेका थिए । उक्त मितिमा प्रतिवादी कमल चौधरी पीडितको घरमा गई पीडितलाई लिई जंगलमा गयो । पीडितको बुबाले मेरो छोरीलाई कमलले भगाई लग्यो खोजी गरी दिनु भनी भन्दा खोज्न पीडितको बुबा, अनिता, सुवदनीलगायतका चार जना गए । पछि फर्केर आउँदा कमल र पीडित मात्र घरमा आएका हुन् । राजीखुशीले यी २ जनाले करणी गरेका होलान् । प्रतिवादीहरू प्रेम चौधरी र सागर चौधरीको उक्त घटनामा कुनै संलग्नता छैन । गाउँमा यहि कुराको हल्ला छ भन्नेसमेत व्यहोराको प्रतिवादी कमल चौधरीका साक्षी चुली कुमालले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी कमल चौधरीले करणी गरेको 

हो । अरू प्रतिवादीले जबरजस्ती करणी गरेका होइनन् । प्रतिवादी कमलले जबरजस्ती करणी गरेको होइन, सहमतिमा नजिकैको जंगलमा करणी गरेको हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस नेत्रलाल चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू ३ जनाले बलत्कार गर्न मेरो छोरीलाई जंगलमा लगेका हुन् । उनीहरूले जंगलमा लगेपछि मैले गाउँमा हल्ला गरेको हुँ । प्रतिवादीहरू कमल र प्रेम २ जनाले जबरजस्ती करणी गरेको हो भन्नेसमेत व्यहोराको जाहेरवाला ठग्गा डगौराले सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरवाला ठग्गा डगौरा थारूको तथ्ययुक्त किटानी जाहेरी दरखास्त र निजले यस अदालतमा समेत आई गरेको बकपत्र,  घटनास्थल प्रकृति मुचुल्का, पीडित 'धनगढी ओ' (परिवर्तित नाम) ले गरेको तथ्ययुक्त घटना विवरण कागज र निजले सो कागजको व्यहोरालाई समर्थन गरी यस अदालतमा समेत आई गरेको बकपत्र, Libia mijora सुन्निएको छ भन्नेसमेत व्यहोराको सेती अञ्चल अस्पताल विकास समितिको रिर्पोटसमेतबाट निज प्रतिवादीहरूले मिति २०६९।१०।६ गते राति ९ बजे जिल्ला कैलाली हसुलिया गा.वि.स.वडा नं. ६ स्थित नमुना सामुदायिक वनमा पीडित वर्ष १२ की 'धनगढी ओ' (परिवर्तित नाम) लाई जबरजस्ती लगी सामुहिकरूपमा बलात्कार गरेको तथ्य पुष्टि हुन आएकोले निज प्रतिवादी प्रेम चौधरी, कमल चौधरी र सागर चौधरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(२) नं. बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने र सामुहिक बलात्कार गरेको देखिँदा ऐ. महलको ३ (क) नं. बमोजिम जनही थप ५ (पाँच) वर्ष गरी जम्मा १३ वर्ष कैद सजाय हुने ठहर्छ । त्यस्तै निज प्रतिवादीहरूबाट जनही रू. १०,०००।– (दश हजार) सोही महलको १० नं.बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराई दिने ठहर्छ भन्ने मिति २०७०।१०।८ गतेको कैलाली जिल्ला अदालतको फैसला । 

पीडितले अदालतमा बकपत्र गर्दा दुई जनाले करणी गरेको तर मैले जबरजस्ती करणी नगरेको भनी स.ज. १७ मा उल्लेख गरेको, अन्य व्यहोरा प्रहरीले आफैले लेखेको भनेकी छिन् । जसबाट निज पीडितको कथनले मेरो निर्दोषितालाई प्रष्ट्याएको छ । घटनाको बारेमा तत्कालै थाहा पाउने पीडितको बुबा र फैसला गर्दा आधार लिइएका वस्तुस्थिति मुचुल्काका अनिता चौधरी र नेत्रलाल चौधरीको बकपत्रबाट समेत मैले अभियोग दाबीअनुसारको कसुर नगरेको स्थापित भइराखेको अवस्थामा कैलाली जिल्ला अदालतले फौजदारी न्यायको सिद्धान्तविपरीत मलाई सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने प्रतिवादी सागर चौधरीको पुनरावेदन अदालत, दिपायलमा परेको पुनरावेदन पत्र ।

पीडितकी आमा धनगढी आएको बेला पीडितले सुटुक्क आज राति मेरो घरमा आउनु भनेकीले पीडितको घरमा राति गएको हुँ भनी प्रतिवादी कमल चौधरीले पीडितलाई निजको सहमतिमा करणी लिनुदिनु भएको कुरा पुष्टि हुने गरी बयान लेखाएका 

छन् । स्वास्थ्य परीक्षण रिपोर्टबाट पनि जबरजस्ती करणी भएको भन्ने देखिँदैन । वादीका साक्षीहरूले समेत कमल चौधरीले पीडितको सहमतिमा विवाह गर्ने सर्तमा करणी लिनुदिनु भएको हो भनी अदालतमा बकपत्र गरेबाट पनि मेरो निर्दोषिता प्रमाणित हुन्छ । कमल चौधरीको साथमा सुब्बादेवी चौधरीको घरसम्म गएकै आधारमा मलाई समेत दोषी ठहराई गरेको कैलाली जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाई पाउनु पर्छ भन्ने प्रतिवादी प्रेम चौधरीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७०।८।४ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. एवम्‌ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, दिपायललाई जानकारी दिई नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७१।३।१ गतेको आदेश ।

मिसिल संलग्न आधार, कारण र प्रमाणहरूबाट प्रतिवादीहरू प्रेम चौधरी र कमल चौधरीलाई जबरजस्ती करणीको कसुरमा जनही ८(आठ) वर्ष कैद सजाय र सामुहिक रूपमा जबरजस्ती करणी गरेतर्फ उक्त महलको ३(क) नं. बमोजिम जनही थप ५(पाँच) वर्ष कैद हुने तथा निजहरू प्रतिवादी प्रेम चौधरी र कमल चौधरीबाट पीडित धनगढी 'ओ' लाई जनही दश हजार रूपैयाँ क्षतिपूर्ति भराई दिने ठहर गरेको सुरू कैलाली जिल्ला अदालतको मिति २०७०।१०।४ को फैसला सो हदसम्म मनासिब हुँदा सदर हुने ठहर्छ । कसुर ठहर गर्दा ऐनको दफा उल्लेख गरेकोसम्म मिलेको नदेखिएकोले सुरूले मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(२) नं. बमोजिमको कसुर कायम गरेको कुराको हदसम्म केही उल्टी भई ऐ. महलको ३(३) नं. बमोजिमको कसुर कायम भई सोही कानूनबमोजिम माथि लेखिएअनुसार प्रतिवादी कमल चौधरी र प्रेम चौधरीलाई सजाय हुने ठहर्छ । साथै, प्रतिवादी सागर चौधरीलाई अभियोग दाबीबमोजिम सजाय हुने ठहर गरेको सुरू फैसला केही उल्टी भई निज प्रतिवादी सागर चौधरीले १६ वर्ष मुनिकी बालिकालाई प्रतिवादी कमल चौधरी र प्रतिवादी प्रेम चौधरी भन्ने प्रेमबहादुर कुमालले करणी गर्ने कुरा थाहा पाई हुल गरी सँगै गएको, पीडितलाई समाउने र पीडकको कार्यमा मद्दत दिने कार्य गरेको कसुरमा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ४ नं. बमोजिम ६(छ) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, दिपालयको मिति २०७१।५।३ को फैसला ।

जाहेरीमा पीडितको उमेर १२ वर्ष लेखाए बमोजिम अभियोग पत्रमा १२ वर्ष नै कायम गरी प्रतिवादीहरू उपर सजायको प्रस्ताव गरिएको छ । पीडितले बकपत्र गर्दा १२ वर्ष नै उमेर लेखाएकी छन् । सोही उमेरलाई आधार बनाई सुरू जिल्ला अदालतले सजाय गरेकोमा पुनरावेदन अदालत दिपायलले पुनरावेदन जिकिर नै नरहेको उमेर सम्बन्धमा मेडिकल रिपोर्टको उमेरलाई आधार बनाई फैसला गरेको 

देखिन्छ । बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ बमोजिमका उमेर निर्धारण गर्ने कागजको खोजबिन नगरी चिकित्सकको परीक्षण प्रतिवेदनको अनुमानित उमेरलाई प्रमाणमा ग्रहण गरी गरेको फैसला बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ को व्याख्यात्मक त्रुटि रहेको छ । पीडितले कागज गर्दा प्रतिवादी सागर चौधरीले आफूमाथि सामुहिकरूपमा जबरजस्ती करणी गरेका हुन् भनी लेखाएको, प्रतिवादी सागर चौधरीले अनुसन्धानमा बयान गर्दा पीडितलाई जबरजस्ती करणी गर्न निजको योनिमा मेरो लिङ्ग लगाई जबरजस्ती करणी गर्न लाग्दा निजको योनिबाट रगत निस्केपछि मैले यौन सम्पर्क गर्न नपाई छाडेको हुँ भनी बयान गरेको अवस्थामा कसुरदार ठहर नगरी मद्दत गरेको भनी ऐ. ४ नं. बमोजिम सजाय गरेको मिलेको छैन । प्रतिवादी कमल चौधरी र प्रेम चौधरीको हकमा जबरजस्ती करणीको ३(३) नं. बमोजिमको कसुर ठहर्‍याएको हदसम्म कै फैसला बदर गरी अभियोग माग दाबीबमोजिम सजाय ठहर गरी सुरू कैलाली जिल्ला अदालतको फैसला सदर कायम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।

प्रतिवादीहरूले मौकामा र सुरू अदालतमा बयान गर्दा पीडितको उमेर सम्बन्धमा कुनै विवाद नदेखाई पुनरावेदन अदालत, दिपायलमा पुनरावेदन गर्दासमेत उमेर सम्बन्धमा कुनै जिकिर नलिएको अवस्थामा पीडितको स्वास्थ्य पीरक्षण प्रतिवेदनमा निजको उमेर अन्दाजी १४-१६ वर्ष भनी उल्लेख भएको आधारमा मात्र सोही उमेरलाई पीडितको उमेर कायम गर्ने गरी तथा अनुसन्धानमा प्रतिवादीमध्येका सागर चौधरीले साबिती बयान गरेको अवस्थामा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको ४ नं. अनुसार मतियार मात्र कायम गरी सुरू फैसला केही उल्टी गर्ने गरी भएको पुनरावेदन अदालत, दिपायलको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. प्रयोजनार्थ प्रत्यर्थीहरूलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०७३।६।४ को आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान्‌ उपन्यायाधिवक्ता श्री नारायणबहादुर थापाले पीडितको उमेरको सम्बन्धमा विवाद नै उठेको छैन । उमेरमा विवाद भएमा मात्र प्रमाणका आधारमा ठहर गर्नुपर्ने हुन्छ । जाहेरी अभियोग पत्र, पीडितले गरेको कागज, बकपत्रसमेतमा पीडितको उमेर १२ वर्ष होइन भनी जिकिर नलिएको अवस्थामा मेडिकल रिपोर्टमा पीडितको उमेरको जाँच गरेको अवधिमा पीडितको उमेर १४-१६ वर्षकी भनी लेखेकोलाई आधार लिई गरेको फैसला मिलेको छैन । प्रतिवादी सागर चौधरीले अनुसन्धान अधिकारीसमक्ष कसुरमा साबित रही पीडितलाई जबरजस्ती करणी गर्न आफ्नो लिङ्ग पीडितको योनिमा लगाउन लाग्दा निजको योनिबाट रगत निस्केकोले यौन सम्पर्क गर्न नपाई छोडेको हुँ भनी बयान गरेको छ । पीडितले कागज गर्दा प्रतिवादी सागर चौधरीसमेतले आफू माथि सामुहिकरूपमा जबरजस्ती करणी गरेका हुन भनी लेखाएकी छिन् । यसप्रकार प्रतिवादी सागर चौधरीले पीडितको योनिभित्र लिङ्ग धकेली सकेपछि रगत देखेको र लिङ्ग बाहिर निकालेको भन्ने कुरा प्रष्ट देखिई अभियोग दाबीबमोजिम सामुहिक जबरजस्ती करणी गरेको देखिँदा देखिँदै, निज प्रतिवादीलाई अन्य प्रतिवादीहरूलाई जबरजस्ती करणी गर्न मद्दत मात्र गरेको ठहर गरी सजाय गरेको नमिलेको हुँदा निज प्रतिवादी सागर चौधरीलाई समेत मागदाबी बमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसमा सुरू कैलाली जिल्ला अदालतबाट प्रतिवादीहरूले पीडितलाई जबरजस्ती करणीको कसुर गरेको ठहर्‍याई जबरजस्ती करणीको ३(२) बमोजिम जनही ८ वर्षका दरले कैद सजाय र पीडित परिवर्तित नाम 'धनगढी ओ' लाई सामुहिकरूपमा करणी गरेको देखिँदा ऐ. को ३(क) नं. बमोजिम थप ५ वर्ष कैद गरी जम्मा १३ वर्ष कैद सजाय हुने तथा प्रतिवादीहरूबाट पीडितले जनही १०,००० ।– का दरले क्षतिपूर्तिसमेत भराई पाउने ठहर गरी भएको फैसला भएको 

देखिन्छ । सो फैसलाउपर पुनरावेदन अदालत, दिपालयमा पुनरावेदन परेकोमा सो अदालतबाट निर्णय हुँदा उल्लिखित सजाय गर्ने ठहर गरी भएको सो हदसम्म मनासिब हुँदा सदर हुने तर प्रतिवादी प्रेम चौधरी र कमल चौधरीको हकमा कसुर ठहर गर्दा ऐनको दफा मिलेको नदेखिँदा ऐ. ऐ. को ३(२) नं. बमोजिमको कसुर कायम गरेको हदसम्म केही उल्टी भई जबरजस्ती करणीको ३(३) नं. बमोजिम कसुर कायम भई सोही कानूनबमोजिम माथि लेखिएअनुसार प्रतिवादी प्रेम चौधरी र कमल चौधरीलाई सजाय हुने र प्रतिवादी सागर चौधरीको हकमा सुरू फैसला केही उल्टी भई निज प्रतिवादी सागर चौधरीले १६ वर्ष मुनिकी बालिकालाई प्रतिवादी कमल चौधरी र प्रेम चौधरी भन्ने प्रेमबहादुर कुमालले करणी गर्ने कुरा थाहा पाई सँगै गएको पीडितलाई समाउने पीडकको कार्यमा मद्दत दिने कार्य गरेको कसुरमा निजलाई जबरजस्ती करणी महलको ४ नं. बमोजिम ६ वर्ष कैद हुने ठहर्छ भन्ने फैसला भएको देखिन्छ । सो फैसला उपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।

पुनरावेदन अदालत, दिपायलबाट भएको फैसलाउपर प्रतिवादीहरू प्रेम चौधरी, कमल चौधरी र सागर चौधरीले यस अदालतमा पुनरावेदन गरेको नदेखिँदा त्यसतर्फ केही बोलिरहन परेन । 

अब वादी नेपाल सरकारले आफ्नो पुनरावेदन पत्रमा जाहेरीमा पीडितको उमेर १२ वर्ष लेखाएबमोजिम अभियोग पत्रमा १२ वर्ष नै लेखाएको पीडितले बकपत्र गर्दा १२ वर्ष नै उमेर लेखाएकीमा सोही उमेरलाई आधार मानी सुरू जिल्ला अदालतले फैसला गरेको तर पुनरावेदन अदालत, दिपायलले पुनरावेदन जिकिर नै नरहेको विषयमा प्रवेश गरी पीडितको उमेर जाँच गरी उल्लेख गरेको मेडिकल रिपोर्टको उमेरलाई आधार बनाई फैसला गरेको मिलेको छैन । बाल न्याय कार्यविधि नियमावली, २०६३ को नियम १५ बमोजिम उमेर निर्धारण गर्ने अन्य प्राथमिक प्रमाण कागजको खोजबिन नगरी चिकित्सकको परीक्षण प्रतिवेदनमा उल्लिखित अनुमानित उमेरलाई साँचो प्रमाणमा ग्रहण गरी गरेको फैसला उक्त उमेर निर्धारण गर्ने सम्बन्धमा भएको नियमावलीको व्यवस्थाको व्याख्यात्मक त्रुटि रहेको छ । साथै प्रतिवादी सागर चौधरीलाई दाबीबमोजिम कसुरदार ठहर नगरी मद्दत गरेको भनी ऐ.ऐनको ४ नं. बमोजिम सजाय गर्ने गरेको र मेडिकल प्रतिवेदनमा उल्लिखित रायको आधारमा प्रतिवादीहरू कमल चौधरी र प्रेम चौधरीको हकमा जबरजस्ती करणीको ३(३) नं. बमोजिम कसुर ठहर गरेको हदसम्मको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग दाबीबमोजिम कसुर कायम गरिपाउँ भनी जिकिर लिएको पाइन्छ ।

उपर्युक्तअनुसारको तथ्य तथा बहस बुँदा रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, दिपायलबाट भएको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा,  यी परिवर्तित नाम 'धनगढी ओ' लाई प्रतिवादीहरूले घरबाट निकाली नजिकै रहेको जंगलमा लगी जबरजस्ती करणी गरेकाले सजाय गरिपाउँ भन्ने जाहेरी दरखास्त दर्ता भएपछि प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखिन्छ । अनुसन्धानको क्रममा पीडितको शरीर जाँच गर्न पठाएको व्यहोराको पत्रमा देहायका कुरा उल्लेख गरी पठाई दिनु भनी पीडितको स्वास्थ्य परीक्षण गरिदिने बारे सेती अञ्चल अस्पताललाई अनुसन्धान अधिकृतले मिति २०६९।१०।७ पठाएको पत्रको ७ नं. को बुँदामा पीडितको यकिन उमेर कति छ ? पीडितलाई करणी भएको छ छैन ? परीक्षण गरी पठाई दिनु भनी च.नं. ४००९ को पत्र पठाई पीडितलाई अस्पताल पठाएको देखिन्छ । पत्र प्राप्त भएपछि सेती अञ्चल अस्पतालले पीडितको स्वास्थ्य परीक्षण र उमेर यकिन गर्न ३ जनाको मेडिकल बोर्ड गठन गरी परीक्षण गरी उमेरलगायत अन्य विवरण उल्लेख गरी जवाफ पठाएको देखिन्छ । उक्त पत्रबमोजिम पीडितको स्वास्थ्य परीक्षण गरी राय पठाउन ३ जना सदस्य भएको बोर्डले पीडितको उमेर १४-१६ वर्ष भनी उल्लेख गर्दै पीडितको योनि वरिपरि Moist छ, Libia mijora सुन्निएको, कन्याजाली च्यातिएको छ भन्ने उल्लेख गरी प्रतिवेदन पठाएको देखिन्छ ।

३. अब प्रतिवादीहरूलाई आरोपित कसुर गरेकोमा के कति सजाय हुने हो भनी हेर्दा जबरजस्ती करणीको महलको ३(३) बमोजिम सजाय गरी सामुहिक रूपमा जबरजस्ती करणी गरेको देखिँदा थप ५ वर्ष कैद गर्ने गरी पीडितले प्रतिवादीहरूसँग दश हजारका दरले क्षतिपूर्ति पाउने गरी भएको फैसला मनासिब हुँदा सदर हुने भनी पुनरावेदन अदालतबाट फैसला भएको 

पाइन्छ । कसुर ठहर गर्दा ऐनको दफा ३(२) ले माग गरेको सजायसम्म उल्लेख गरेकोसम्म मिलेको नदेखिएकोले सुरूको फैसला मुलुकी ऐन जबरजस्ती करणीको महलको ३(३) बमोजिम को कसुर कायम गरेको कुराको हदसम्म केही उल्टी भई ऐ. महलको ३(३) नं. बमोजिम कसुर कायम भई सोही कानूनबमोजिम प्रतिवादी कमल चौधरी र प्रेम चौधरीलाई सजाय हुने ठहराई पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ ।

४. मिसिल प्रमाणबाट प्रतिवादीहरूले कसुर गरेको प्रमाणित भएपछि दाबीबमोजिम सजाय माग गरेको ऐनको दफाले प्रतिवादीहरूले गरेको कसुरलाई समर्थन गर्छ गर्दैन ? सो कुरा न्याय कर्ताले कानूनको अध्ययन गरी हेर्नुपर्दछ । सो सजाय गरेको ऐनको दफाले नसमेटिने देखियो र त्यही ऐनको अर्को दफामा भएको कानूनी व्यवस्थाले भएको कसुरलाई समेटिने देखियो भने र वादी दाबीबमोजिम वादीले माग गरेको सजायभन्दा बढी हुन जाँदैन भने  सो परिवर्तन गरेको दफाले माग गरेको सजायमा भन्दा बढी हुँदैन भने सजायमा परिवर्तन गर्न मिल्ने नै हुन्छ । 

५. वादी नेपाल सरकारले दायर गरेको अभियोग पत्रमा जबरजस्ती करणीको ३(२) को कसुरमा सजाय गरिपाउँ दाबी लिएको पाइन्छ । प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा पीडितको स्वास्थ्य परीक्षण गर्न पठाएको पत्रमा पीडितको उमेरसमेत यकिन गर्न पठाएकोमा स्वास्थ्य विशेषज्ञबाट पीडितको स्वास्थ्य जाँच गरी रिपोर्टमा उल्लेख गरी सोको अलावा निजको उमेर पनि यकिन गरी पठाएको देखिन्छ । जसअनुसार पीडितको उमेर १४-१६ वर्ष भनी उल्लेख भएको पाइन्छ । जाहेरवाली, पीडित र प्रतिवादीले बयान गर्दा आफ्नो उमेर वर्ष १२ भनी उल्लेख गरेको र सोही कथनको आधारमा वादी पक्षले सजायको मागदाबी गरेको भएपनि फौजदारी मुद्दामा दाबी प्रमाणित गर्ने भार वादी पक्षको हुने सिद्धान्तअनुसार पीडितको उमेर १२ वर्षको हो भन्ने देखिने बाल न्याय कार्यविधि नियमावली २०६३ को नियम १५ बमोजिमको कुनै प्रमाण संकलन गरिएको पाइँदैन । जबकी वादी पक्षले नै संकलन गरेको पीडितको उमेर जाँचको प्रतिवेदनबाट निजको उमेर १४-१६ वर्षको भन्ने दिखिई रहेको र अन्य उमेर खुल्ने प्रमाण पत्रहरू वादी पक्षबाट पेस भएको नदेखिएको अवस्थामा डाक्टरको बोर्डबाट उमेर जाँचका क्रममा उल्लेख गरेको उमेरलाई मान्नुपर्ने कानूनी व्यवस्था उल्लिखित नियमावलीले गरेको अवस्थामा त्यसलाई ईन्कार गर्न सकिँदैन । कुनै पनि फौजदारी मुद्दामा जुन कसुर ठहर हुन्छ, कानून मुताबिक फरक फरक सजायको व्यवस्था भएकोमा तदनुकूलको कानून मुताबिक कसुरदारलाई सजाय गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा पनि ऐनले नै पीडितको उमेरको आधारमा कसुर कायम गरी सकेपछि मिसिल संलग्न प्रमाणबाट कायम भएको उमेरको आधारमा नै कसुर कायम गरी सजाय गर्नुपर्ने भएको र पीडितको उमेर १४ वर्षभन्दा माथि १६ वर्ष मुनिको भनी उल्लेख गरेको प्रमाणको आधारमा प्रतिवादीलाई वादी पक्षले प्रस्ताव गरेको सजायको दाबीमा ३(२) उल्लेख गरेपनि मिसिलबाट जबरजस्ती करणीको ३(३) को कसुर स्थापित भएपछि ऐ. को ३(३) अनुसार नै प्रतिवादीहरूलाई सजाय गर्नुपर्ने भएबाट यस्तो अवस्थामा दाबीभन्दा बाहिर गई सजाय भएको भनी सम्झन मिल्दैन ।

६. यस कारण पीडितको उमेर सम्बन्धमा मिसिलमा विवाद नभएको र प्रतिवादीले पनि उमेर सम्बन्धमा जिकिर नलिएको विषयमा पुनरावेदन अदालतले उमेरमा विवाद निकाली प्रतिवादीलाई कम सजाय गरेको मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा, मौकामा अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीले पीडितको स्वास्थ्य परीक्षण गरी पठाई दिने भनी पीडितको उमेर जाँच हुँदा पीडितको उमेर १४-१६ वर्षभित्र भन्ने समूहगतरूपमा पीडितको शरीर जाँच गर्ने चिकित्सकले बोर्ड गठन गरी जवाफ पठाएको देखिन्छ । यसरी जाँच प्रतिवेदन प्राप्त भएपछि अनुसन्धानको क्रममा पीडित एउटा उमेर देखाउने अनि जाँच गर्ने मेडिकल बोर्डबाट कसुरको सम्बन्धमा पीडितले देखाएभन्दा फरक देखाएपछि सो उमेर के हो भनी यकिन गरी अनुसन्धान गर्ने पक्षले पीडितको उमेरबारे यकिन गरी अभियोग दायर गर्नुपर्ने हो । सो विशेषज्ञले उल्लेख गरेको उमेर र पीडितले उल्लेख गरेको उमेरबारे मौकामा नै थाहा पाई अनदेखा गरी त्यसतर्फ केही उल्लेख नगरी सो पत्र मिसिल संलग्न राखी अभियोग पत्र दायर गरेको अवस्थामा न्यायकर्ताले न्याय सम्पादन गर्ने कार्यमा उक्त पत्र सम्बन्धमा यकिन गर्न नपाउने भन्ने हुँदैन । 

७. मिसिलबाट पीडितको उमेर १२ वर्ष देखाइएको छ भने मेडिकल रिपोर्टमा १४-१६ भन्ने उल्लेख गरेको अवस्थामा यकिन उमेर कति हुने भनी बाल न्याय कार्यविधि नियमावली नियम १५ मा भएको व्यवस्थाअनुसार पहिलोमा अस्पतालबाट जारी गरिएको बालकको जन्मदर्ता प्रमाण पत्रमा उल्लेख भएको जन्ममिति, सो नभएमा स्थानिय पञ्जिकाधिकारीबाट जारी भएको जन्मदर्ता प्रमाण पत्रमा उल्लेख भएको जन्ममिति सो पनि नभएमा विद्यालयको चारित्रिक प्रमाण पत्रमा उल्लिखित जन्ममिति वा विद्यालय भर्ना हुँदा उल्लेख गरेको जन्ममिति र सो पनि नभएमा सरकारी अस्पतालबाट उमेर परीक्षण गरी दिएको रायबाट देखिएको उमेरबाट बालकको उमेर निर्धारण गर्नुपर्छ भन्ने व्यवस्था भएको हुँदा प्रस्तुत मुद्दामा उक्त नियममा उल्लिखित पहिला तीन किसिमका उमेर निर्धारण गर्ने प्रमाणहरू नभएको अवस्थामा मेडिकल बोर्डको रिपोर्टमा उल्लेख गरिएको उमेरलाई आधार मानी प्रतिवादीउपर कसुर निर्धारण गरी सजाय भएको देखिएकोले सो लाई अन्यथा भन्नु पर्ने अवस्था छैन ।  वादी नेपाल सरकारले आफूले दायर गरेको अभियोगपत्रमा पीडितको उमेर जाँच गरी उमेर उल्लेख भएको पत्र मिसिलसाथ राख्ने तर आफैले राखेको पत्रलाई प्रमाणमा लिन मिल्दैन भनी लिएको जिकिर मनासिब हुन सक्दैन । न्यायिक मान्यता र प्रमाण कानूनअनुकूलको हुनुपर्दछ । तसर्थ विवाद नै नभएको पीडितको उमेरको सम्बन्धमा पीडितको उमेर कम गरी प्रतिवादीहरूलाई कम सजाय गरेको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. प्रतिवादी सागर चौधरीले प्रतिवादीमध्ये कमल चौधरी र प्रेम चौधरीले जबरजस्ती करणी गरिसकेपछि म पनि जबरजस्ती गर्न जाँदा पीडितको योनिबाट रगत निस्केपछि यौन सम्पर्क नगरी छोडिदिएको हुँ भनी मौकामा र अदालतमा बयान गर्दै प्रतिवादीमध्ये कमल चौधरीसँगै जाँड खाने ठाउँमा सुब्बादेवीको घर गएको त्यहाँ एक कचौरा जाँड खाइसकेपछि हामीलाई कमलले तिमीहरू यहीँ बस म सालीको घर जान्छु भनी गयो । म र प्रेम त्यहीँ बस्यौं । १ घण्टाजतिको समयमा नआएपछि कमललाई लिन जाँदा पीडित र कमल सँगै उभिएका थिए भनी आफूले वारदात घटाएतर्फ इन्कार रही पीडित परिवर्तित नाम 'धनगडी ओ' को घरसम्म गएको तथ्य स्वीकार गरेको देखिन्छ ।

९. पीडितले अदालतसमक्ष बकपत्र गर्दा आफू वारदात घटेको दिन पिसाब फेर्न घर बाहिर निस्केको बेला तीनै जना प्रतिवादीहरूले बोकेर जंगलमा लगी २ जना प्रतिवादी प्रेम चौधरी र कमल चौधरीले जबरजस्ती करणी गरेका हुन् । प्रतिवादी सागरले मेरो योनिबाट रगत बगेको देखेर करणी गरेन भनी व्यहोरा उल्लेख गरेको देखिन्छ । जाहेरवालाले पनि पीडित मेरी छोरीलाई जंगलमा लगेपछि मैले गाउँमा हल्ला गरेको 

हुँ । कमल र प्रेमले जबरजस्ती करणी गरेको हो, सागरले करणी गरेका होइनन् भनी अदालतसमक्ष बकपत्र गरेको देखिन्छ । प्रतिवादी कमल चौधरीका साक्षी चुल्ली कुमारले प्रतिवादी र पीडितबीच माया प्रेम भएकोले कमलले राजी खुसीले करणी गरेका हुन । प्रतिवादी सागरले करणी गरेको होइन भनी बकपत्र गरेको 

देखिन्छ । यस्तै घटना विवरणमा कागज गर्ने अनिता चौधरी र नेपालाल चौधरीले पनि कमल चौधरीले जाहेरवालाको छोरीलाई सहमतिमा जंगलमा लगी करणी गरेको हो सागरले करणी गरेनन् भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी कमल चौधरीले पनि आफूले राजीखुसीले करणी गरेको हुँ सागरले होइन भनी अदालतमा बयान गरेको देखिन्छ ।

१०. जबरजस्ती करणी जस्तो अपराधमा प्रत्यक्ष वारदात देख्ने र भोग्ने व्यक्ति पीडित नै हुने भएकोले निज पीडितको भनाईलाई महत्त्वपूर्ण स्थान दिनुपर्छ । यस्तो घटनामा पीडक र पीडित मात्र प्रत्यक्षदर्शी हुने भएकाले पीडितको भनाईलाई बढी प्रमाणित महत्त्व दिनुपर्दछ । किनकी उसले व्यक्त गरेको भनाईले ऊ माथि अपराध भएका क्रियाको बारेमा क्रमबद्धरूपले व्यक्त गर्दछ जुन कुरा सत्य तथ्यमा आधारित भएको हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी सागरले पीडितलाई करणी नगरेको भनी बयान गरेको र पीडितले आफूमाथि प्रतिवादीहरू कमल र प्रेमले मात्र करणी गरेका हुन् । सागरले आफूलाई जंगलतर्फ लगे पनि मेरो योनिबाट रगत आएको देखेको हुँदा निजले सम्पर्क गरेको होइन भनी उल्लेख गरेको तथ्यलाई अन्यथा भन्न सकिने अवस्था हुँदैन ।

११. त्यसैगरी माथि उल्लिखित जाहेरवालाको र पीडितको अदालतमा भएको बकपत्र, प्रतिवादी सागर र कमलले अदालतमा गरेको बयानबाट प्रतिवादी सागरले पीडितलाई जबरजस्ती करणी गरेको नभई अन्य दुईजना प्रतिवादीहरूले पीडितलाई करणी गर्ने कार्यमा सहयोग गर्ने भन्ने तथ्य स्पष्टरूपमा देखिई उल्लिखित प्रमाणबाट सो कुरा स्थापित भएको देखिएबाट निज प्रतिवादीलाई दाबीबमोजिम सजाय नगरी जबरजस्ती करणीको ४ नं. बमोजिमको कसुर कायम गरी सोहीबमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न सकिएन । अत, सो फैसला मनासिब हुँदा सो सम्बन्धमा नेपाल सरकारले लिएको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

१२. अतः उल्लिखित विवेचित आधार प्रमाणहरूबाट प्रतिवादी कमल चौधरी र प्रेम चौधरीलाई जबरजस्ती करणीको कसुरमा जबरजस्ती करणीको ३(३) नं. बमोजिम १४ वर्षमाथि १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको कसुर ठहर गरी निज प्रतिवादीहरूलाई  ८ वर्ष कैद र सामुहिकरूपमा जबरजस्ती करणी गरेकोले ऐ. को ३ क नं. बमोजिम थप ५ वर्ष कैदसमेत गरी जम्मा १३ वर्ष कैद हुने र सुरू कैलाली जिल्ला अदालतको मिति २०७०।१०।८ को फैसलाले प्रतिवादी कमल र प्रेम चौधरीको हकमा सजाय गरेको सो हदसम्म  सदर हुने ठहराएको पुनरावेदन अदालत, दिपायलबाट मिति २०७१।५।३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी सागर चौधरीलाई सुरू जिल्ला अदालतले जबरजस्ती करणीको महलको ३(२) नं. बमोजिम ८ वर्ष र ३(क) नं. बमोजिम थप ५ वर्ष कैद हुने गरी गरेको फैसला केही उल्टी गरी ऐ. को ४ नं. बमोजिम ६ वर्ष कैद गरेको पुनरावेदन अदालत, दिपायलको मिति २०७१।५।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु । 

न्या. पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृत : जीवनकुमार भण्डारी

इति संवत् २०७३ साल चैत २ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु